नत्र यसरी नै रोइरहने छन् उनीहरु .... !

बसन्त घिमिरे, चम्फाको आँखाको आँशु रोकिने कुनै छेकछन्दै थिएन । आँखामा हरेक पटक तगारो लगाउन आउने ति आँशुका थोपाहरुलाई उनी पुछ्दै आफ्ना ब...


बसन्त घिमिरे,
चम्फाको आँखाको आँशु रोकिने कुनै छेकछन्दै थिएन । आँखामा हरेक पटक तगारो लगाउन आउने ति आँशुका थोपाहरुलाई उनी पुछ्दै आफ्ना बेदानाहरु पोख्दै गइन् । ‘हुनत पाप नसोच्नु भन्छन्, तर  सबैको आनन्द छ मलाई मात्र किन आज यस्तो होला त ? वेलुका भयो भने यो बेलका किन भयो होला ? उज्यालो हुँदै आए पछि यो उज्यालो किन भए होला ? भन्ने लाग्छ ।’ श्रीमानलाई सम्झदै उनले भनेका यी शब्दहरुले उनको श्रीमान प्रतिको माया र नहुँदाको पीडालाई छलङ्ग बयान गर्र्दै थियो । 

शिब सुबेदीद्धारा लिखित यी हरफहरुः  
तिम्रो फोटो बोल्दैन, न बोलाउँदा सुन्छ
जति धेरै सम्झियो, उति धेरै मन रुन्छ
हो, यहि पंक्तीले चम्फाको हिजोआजको दैनिकीको प्रतिनिधित्व गर्छ । एक छोरा र एक छोरीकी आमा चम्फा विश्वकर्मको श्रीमानको ६ महिना अगाडी वैदेशिक रोजगारीको शिलशिलामा कतारमा गाडी दुर्घटनामा मृत्यु भएको रहेछ । 
मकवानपुरको मनहरी गाविसका कुमार विश्वकर्मा विदेश जानुको मुख्य कारण घरमा दिनहुँ थपिदै गएको ऋणको भारी नै थियो । उमेरले ३० टेकेका उनी घरको ऋण चुक्ता गर्न र विदेशमा धन कमाएर एउटा घर बनाइ पारिवारिक सुख दिने सपना बोकेर करिब एक लाख तिरेर २०७२ साल जेठ ८ गते कतार उडेका रहेछन । 
उनी नेपालमा हुँदा गाडी चालक थिए । नेपालमा कमाएको पैसाले एकातिर परिवार पाल्न धौ धौ थियो, अर्कातिर ऋण थपिंदै गयो । दुःखको विकल्प खोज्न लागे उनी । उनका दाजु केहि समय अगाडी साउदीमा काम गरि फर्केका रहेछन् । त्यसैले उनी पनि दाजुकै पदचाप पछ्याउँदै धन कमाउने रहरमा लालपुर्जा धितो राखेर सयकडा तीनका दरले ऋण खोजी काठमाडौं हान्निएछन् । र, मेनपावरले देखाइदिएको बाटो लागेर कतार उत्रेछन् ।


दिनहुँजसो घरमा फोन गरिरहने कुमारकोे कतार बसाई नराम्रो थिएन । दोहामा गाडी चालककै काम पाएका थिए । सधैं घरमा फोन गरिरहने कुमारले गएको कात्तिक २४ गते विहान पनि सधैं जस्तो फोन गरे । हाँसीखुशी दुई जोईपोईबीच कुराकानी चल्यो । ‘अब केहि महिनामा ऋण तिरेर सकिन्छ अनि घर बनाउन हो’ उनले श्रीमतिलाई योजना पनि सुनाए ।
उनको त्यो जाँगर र हौसलाले उत्साहित बनाएको त्यो दिन चम्फाको लागि भने कालो दिन सावित भयो । दुर्भाग्य, कुमारको त्यहि दिन कतारमा गाडी दुर्घटनमा परेर प्राण पखेरु उडेछ । गाउँमा गाईंगुईं चल्न थालेछ । तर उनलाई यकिन भएन । त्यसैले हतासिंदै जेठाजुलाई सोध्न पुगिन् चम्फा । 
कुमारका दाजुले उ विरामी छ रे भने । विहान आफूसँग त्यसरी हाँसीखुशी बोलेको मान्छे कसरी अकस्मात विरामी पर्यो उनी जिल्ल परिन् । उनी एकपटक फोन गरौं भनेर जिद्धि गर्न थालिन् । तर त्यो सम्भव भएन । त्यो रात अनेक तर्कनामा विते । भोलीपल्ट विहान खवर अर्कै आयो । 
जव विहान कुमारको दाजुको घरमा रुवावासी सुरुभयो, चम्फाले टेकेको जमिन त्यसै त्यसै भास्सिएर जान थाल्यो । संसार अँध्यारो भयो उनका लागि । तर पनि मनमा पीडा र आँखामा आँशु बोकेर उनी कतारमा अकस्मात मृत्युवरण गरेका श्रीमानको लास पर्खेर बसिन् । उनी सामु अरु विकल्प पनि त थिएन । 
एक वर्ष अगाडी मात्र धेरै पैसा कमाउन परदेशिएका श्रीमान काठको बाकसमा बन्द भएर आएपछि   पटक पटक बगिरहने आँशु र रुँदा रुँदै थाकिसकेको त्यो आँखाले उनको पीडाको परिचय दिइरहेको थियो । 
उमेरले भर्खर २४ टेकेकी चम्फाको काठले बारेको घर छ । दुई महिनालाई पनि खान नपुग्ने बारी र श्रीमानले गलामा लगाइदिएको मुगा बाहेक (जो श्रीमान्को सम्झना उनी सधैं लगाउँछिन्) आफ्नो भन्ने छोराछोरीमात्र बाँकी छन् । एक छाक खाएर भएपनि छोराछोरीलाई राम्रोसँग पढाउने उनको धोको छ । श्रीमान विदेश जाँदा गरेको बीमा र नेपाल सरकारले विदेशमा मृत्यु भएका परिवारलाई दिने अर्थिक सहायताबाट प्राप्त रकमले श्रीमान् विदेश जाँदाको ऋण र श्रीमानको किरिया खर्च पनि त्यसैबाट  तिरेकी छिन् । अहिले दैनिक नुन तेलको खर्च पनि त्यसैबाट बचेको रकमले चलिरहेको छ । 
अहिलेसम्म त जेनतेन चलिरहेको छ । तर अगाडीको बाटो अझ कष्टकर छ भन्ने उनले बुझेकी छिन् । छोराछोरी पढाउने र बाँकी व्यवहार सम्झँदा मन भारी हुन्छ । श्रीमान सम्झेर नै धेरै विहान र साँझ वित्छन् तर पनि छोराछोरीका लागि भएपनि अव उनी सामु संघर्षको विकल्प छैन भन्ने बुझ्छीन् । उनी भन्छिन् ‘म त गिट्टि कुटेर भएपनि बाँचौला तर छोराछोरीको मेरै कारण भविष्य नविग्रियोस् । त्यसैले उनीहरुको राम्रो पढाइको लागि पहल गरिदिन’ मनले खाने सबै मान्छेसँग अनुरोध छ ।’ 
सीता विश्वकर्मा (कुमारकी आमा) छोराको बारेमा बोल्नै सकिनन । छोराको बारेमा कुरा गर्दा केवल उनको आँशु मात्र बगिरह्यो । भन्छिन्, ‘विदेश जान्छु आमा भन्यो घरभरी ऋण नजा भन्न पनि सकिन, विदेशमै गाडीले किचेर मृत्यु भयो भने । काठको बाकस ल्याए । त्यस्तो छोरो त्यो बाकसमा देख्दा कस्तो भयो होला मलाई ? बरु कालले मलाई किन लगेन ?’ यति बोलिसक्दा उनको रुवाईको आवाज चर्को भइसकेको थियो । 
कुमारका बाबुलाई छोराको मृत्यु अझै पत्याउने विषय छैन । उनलाई छोराको लाश देख्दा कम्पनीले भनेजसरी उनको मृत्यु भएको होइन भन्ने लाग्छ । तर अर्काको देशको कुरा । उनी केहि भन्न पनि सक्दैनन् । उनका अनुसार कुमारको टाउकोमा सामान्य र छातिमा चोट थियो । अन्यत्र कतै कुनै चोट थिएन । तर कम्पनी भन्छ उसलाई आफैले चलाउने गाडीले किच्यो । उनलाई छोरो त्यसरी मर्यो होला भन्ने पत्यारै लाग्दैन । तर उनको प्रश्नको जवाफ दिने पनि त कोहि छैन । 
वर्तमान नेपाली समाजमा यो त केवल एक प्रतिनिधि उदाहरण  मात्र हो । नेपालबाट दैनिक सरदर १२ देखि १५ सय नेपाली कामदार उज्वल भविष्यको सपना बोकेर खाडी तथा मलेसिया लगायतका देश उडिरहेछन् । अर्कातिर त्यसरी नै गएका मध्ये दैनिक करिव ३ देखि ५ जना बाकसमा बन्द भएर फर्किरहेका छन् । 
देख्नेका लागि केवल यो एउटा संख्या मात्र हो । तर भोग्नेका लागि सवैथोक हो । कमाउने उमेको मान्छे बाकसमा बन्द भएर फर्केपछि परिवारको धेरै सपना त्यहि बाकससँगै जल्छ । तथ्याँकले भन्छ गएको आर्थिक बर्र्षमा नेपालीले विदेशबाट ६ खर्व १७ अर्व रकम कमाएर पठाए । देश त्यहि पैसाले चल्यो । तर त्यहि पैसा कमाउन हजारौं माइल टाढा पुगेको एउटा नेपाली काठको बाकसमा बन्द भएर फर्किएको के राज्यसंयन्त्रले देख्छ त ? त्यो परिवारलाई आइपरेको आपत देख्छ त ? नेपाल सरकारले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अव गम्भिर चिन्तन गरि ठोस कदम चाल्नु जरुरी छ । अन्यथा देश नौजवानहरु पठाएर लाश बुझ्दै त्यसको बदलामा प्राप्त हुने रेमिट्यान्सको हिसावकिताव गरिरहनेछ । कतै दुरदराजमा हजारौं चम्फाहरु रोइरहनेछन् । त्यो आँशुको मूल्य कसले खोज्छ र ?  

You Might Also Like

0 comments